काठमाण्डौं। काठमाण्डौं मा मंगलबार जारी वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताए ।
उनले भने, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा विस्तार गर्नुपर्छ । त्यसको लागि मन्त्रालय लागि परेको छ । हामीले प्रादेशिक रुपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यक्ता हो । त्यसका लागि हामील गहन छलफल छौँ । कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ, अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ । हाम्रा नीतिहरु त्यसैअनुरुप अघि बढ्नु आवश्यक छ ।’
उनले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताए । उनले अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताए । उनले देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको बताए । उनले अनुसन्धानका गतिविधिहरुलाई तीव्रता दिन पनि आग्रह गरे ।






























