GB Koirala Banner Ad New

चीनबाट खोप आउने सुनिश्चित भए अर्को चरणको अभियान छिट्टै सुरु हुने

काठमाडौं । चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ । चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालय मार्फत खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २/४ दिनभित्रै आइपुग्ने उहाँले बताउनुभयो । चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ ।

बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।

आउनुपर्ने खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ । नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै भित्रिएको थियो।

यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै, कोभ्याक्स मार्फत नेपालले अनुदानमा तीन लाख डोज खोप पाएको थियो । कोभ्यास मार्फत आउनु पर्ने थप खोपमा ढिलाइ र भारतसँग खरिद गरिएको खोप समयमा नआउँदा खोप अभियान तत्काललाई रोकिएको छ । स्वास्थ्य मन्त्रालयले खरिद गरिएको १० लाख डोज खोप ल्याउनेबारे भारतसँग छलफल भइरहेको बताउँदै आएको छ ।