काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीले आजदेखि व्यवसाय शुभारम्भ सहित उद्घाटन गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ माक्रोइन्स्योरेन्स कम्पनीको रुपमा स्थापित नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको उद्घाटन गरेका हुन् ।
गार्डियन सँगै यो व्यवसाय शुभारम्भ गर्नेमा दोस्रो कम्पनी हो ।
नेपाल बीमा प्राधिकरणले कम्पनीलाई सम्पत्ती बीमा पोलिसी बिक्रीका लागि स्वीकृति दिएको छ । यसमा घर बाहेकका सम्पत्तीको मात्रै पोलिसी बिक्री गर्न पाइनेछ । कम्पनीले पहिलो बीमा दोभान टेलर्सको गरेको छ । कम्पनीले दोभान टेलर्सको १० लाख बराबरको बीमा गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले अहिलेको अवस्थामा लघु बीमा कम्पनीलाई चुनौती सँगै अवसर पनि रहेको बताएका छन् । अहिले निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएको ३६ अर्ब रुपैयाँको व्यवसायमा लघु बीमा मार्फत ६ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन भएको हुँदा यसमा चुनौती सँगै अवसर पनि रहेको रिमालको तर्क छ ।
कम्पनीमा दीपक भट्टको लगानी रहेको छ । ठुला तथा नाम चलेका व्यापारिक समूहको यो लघु बीमामा लगानी छ । कम्पनीमा ४८ जना लगानीकर्ताहरुको संस्थापकमा लगानी छ ।
बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएमा अहिलेसम्म चार वटाले मात्रै कारोबार शुभारम्भको तयारी रहेको थियो । यस मध्ये गार्डियनले उद्घाटन गरिसकेको छ भने नेपाल माइक्रोइन्स्योरेन्स दोस्रो कम्पनी बनेको छ ।































