काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि (शुक्रबार)नेपाल आउने भएका छन्।
एक दिने भ्रमणका लागि नेपाल आउन लागेका सहायक विदेश मन्त्री लुले काठमाडौँमा केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।
काठमाडौँस्थित अमेरिकी राजदूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने छन्।
उनले यसअघि पनि दुई पटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने समेत कार्यक्रम रहेको छ।































