काठमाडौं । आगामी चैत २७ गते नेपाल इन्स्योरेन्सले वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।
सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नेपाल इन्स्योरेन्सले हाल कायम १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ चुक्ता पुँजीमा बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित ८% बोनसपछि पुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६५ रुपैयाँ पुग्नेछ ।




























