GB Koirala Banner Ad New

माधव पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी

काठमाडौ । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे गत सोमबारदेखि सघन छलफल शुरू गरेका छन् ।

यो विकल्पमा जानुअघि पार्टी अध्यक्ष तगा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक छलफल,संवाद र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पनि छलफल हुने बताइएको छ ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ लिएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको छ ।

यसो भयो भने वैशाख २७ अघि नै एमाले विभाजनको प्रक्रियामा जानेछ । नेपाल पक्षका सांसदले राजीनामा दिएपछि प्रतिनिधिसभामा कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव,डा.बाबुराम भट्टराई पक्षको बहुमत पुग्ने हिसाव–किताव हुँदैछ ।

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसद छन। यो संख्याको बहुमतका लागि १३४ मत चाहिन्छ । कांग्रेसको ६१, माओवादी केन्द्र को हुम्लाका स्वतन्त्र सांसद छक्कवहादुर लामासहित ५० र जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चा नेपालकी दुर्गा पौडेलले मन्त्री हुने आशमा एक भोट पनि विपक्षी गठबन्धनमा जाने सम्भावना रहेको छ ।

यति हुँदा पनि १२९ सिट मात्र हुन्छ । ओली विरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो । माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो नेकां सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो ।

अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताएका छन।