GB Koirala Banner Ad New

देशेगाउँमा क्रान्ति भैरव जात्रा हुने

काठमाडौ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को पुरानो गाउँ”देशे गाँउ” मा मनाइने कान्ति भैरव जात्रा संचालन गर्ने सम्बन्धमा आज बिहान सरोकारवालाहरुसँग छलफल गरिएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना र निषेधाज्ञाको अवस्थामा जात्रा कसरी संचालन गर्ने भन्ने बिषयमा स्थनीयसँग छलफल गरिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को कार्यलय परिसरमा भएको सो छलफलमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, महानगरीय प्रहरी वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,४ नं वडा सदस्य बालकृष्ण श्रेष्ठ,वडा सदस्य उमा थापा, वडा सचिब नवराज सेन, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानकुमार कट्टेल, स्थानीय गुठियार सहित स्थानीय सरोकारवालाहरु २५–३० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले गरेका थिए ।

प्रत्येक वर्ष मातातिर्थ औंशीको अघिल्लो दिनबाट शुरु भई अक्षय तृतीयाको दिन सम्म चल्ने क्रान्ति भैरव जात्रा गोकर्णको देशे गाउँको डुठु लाक्षी टोलमा रहेको भैरब उत्तर बाहिनीमा रहेको आफ्नो आमा कान्ति भैरवीको मुख हेर्न जाने धार्मिक मान्यता अनुसार सो जात्रा मनाउने गरिन्छ।

भातको देउता बनाएर फलफुल मिठाइ सहित बिभिन्न परिकारको साथमा भैरबको रथमा राखेर देशे गाउँको डुठुलाक्षीबाट बाजागाजा सहित उत्तर बाहिनीमा रहेको कान्ति भैरवको मन्दिरमा बिहानै पुर्याउने चलन रहेको र त्यसपछि जात्रा सुरु हुने गर्दछ ।
बैशाख २७ गते बिहान रथलाई कान्ति भैरबमा पुर्याएर केही बेर उत्तर बाहिनी मन्दिर परिसरमा राखेपछि स्थानीयले बलि सहित पुजा गरेपछि पुनस् बाजा गाजा सहित सिन्दुर जात्रा गर्दै उक्त भैरबको रथलाई स्थानीय क्षेत्रमा परिक्रमा गरिने परम्परा रहेको छ ।

रथलाई सलाखीटार, भैरब चौर, तालिन्चोक परिक्रमा गर्दै पुनस्डुठु लाक्षी पुर्याएर जात्रासम्पन्न हुने गर्दछ । गत वर्ष समेत कोरोना भाइरस महामारीको कारण बिधि पुजा मात्र गरिएको उक्त जात्रा यस पटक पनि रोकिएमा अर्को वर्ष समेत जात्रा संचालन गर्न नहुने मान्यता रहेको हुँदा यस पटक आवश्यक स्वास्थ्य सुरक्षा बिधि अपनाएर संचालन गर्नु पर्नेमा स्थानीयले सुझाब दिएका छन् ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले विश्वब्यापी रुपमा फैलिएको महामारीको बीचमा जात्रा संचालन गर्दा जोखिम बढ्ने हुँदा अहिले बिधि पुजामा सिमित राखीपछि क्षमा पुजा गर्नुपर्ने,जात्रा भनेपछि मानिसहरु मदिरापान गर्ने गर्छन त्यसपछि लापरबाही बढ्ने हुँदा सामाजिक भौतिक दुरी कायम गर्न गराउन समेत सहज नहुने सुझाव दिएका छन् ।

कार्यक्रममा गोनपा –४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सर्वत्र कोरोना भाइरसको सङ्क्रमण देखिएकाले परम्परा कायम गर्ने नाममा समुदायमा कोरोना भाइरस पस्यो भने नियन्त्रण गर्न गाह्रो हुने, जात्रा वा पर्वको नाममा भिड गरेर सामूहिक रूपमा भोजभतेर गर्नु ठिक हुँदैन।

केही मानिसहरूले हामीले राम्रोसँग पूजाआजा गरेनौँ भने नराम्रो हुनसक्छ भन्ने आशङ्का गर्छन्। तर मलाई लाग्छ हामी जीवित रह्यौँ भने मात्रै हामीले हाम्रा चाडपर्व र जात्राहरू भविष्यका सन्ततिका लागि जोगाइदिन सक्छौँ।

अहिलेको समाजमा मानिसहरू धेरै शिक्षित भएर चेतना पनि उच्च भएको कारणले गर्दा एकदम न्यूनतम मानिसहरू सहभागी भएर बिधि पुजा सहित जात्रा संचालन गर्नुपर्ने र सामाजिक दूरी कायम गर्न र स्वयम् अनुशासनमा बस्न समेत सुझाव दिएका छन् ।
कार्यक्रममा नगर उप प्रमुख शान्ती नेपाल, नगर प्रमुख सन्तोष चालिसे लगायतले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको जात्रा सामान्य ढंगले संचालन गर्न अनुरोध गरेका थिए ।

सदियौंदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने बताउँदै सन्तुलित ढंगबाट नजिकिँदै गरेको जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन । जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन, नगरपालिकाले जनचेतनामूलक गतिबिधि गर्न र भीडभाड कम गर्न स्वयमसेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्ने लगायतका कार्य गर्नको लागि समिति निर्माण गर्ने पनि र सोही समितिले थप निर्णय गर्ने जानकारी गराएको छ । यस पटकको जात्रा बैशाख २७ गतेदेखि ३१ गतेसम्म हुनेछ।