काठमाडौँ । नेपालको सबैभन्दा पुरानो अखबार गोरखापत्र प्रकाशनको १२१ वर्ष प्रवेश तथा छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुक्रबार अग्रज तथा क्रियाशील पत्रकारलाई पुुरस्कृत गर्ने घोषणा गरिएको छ । गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीधर आचार्यले संस्थान परिसरमा आयोजित सङ्क्षिप्त कार्यक्रममा ती पुरस्कृतहरूको नाम सार्वजनिक गर्नुभयो ।
त्यस अवसरमा धर्मपथस्थित संस्थान परिसरमा रहेको जयपृथ्वीबहादुर सिंहको सालिकमा फूलमाला अर्पण गरियो । कार्यक्रममा गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार गोपाल खनालले राष्ट्र आवाज मुखरित गर्ने गोरखापत्रको विगत गौरव गर्नलायक रहेको र यसलाई आगामी हजार वर्षको निरन्तरताको कामना गर्नुभयो ।
गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ लाई नेपाल सरकारले छ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने घोषणा गरेसँगै गोरखापत्र संस्थान व्यवस्थापनले ५५ हजार ५५५ रुपियाँ राशिको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’को घोषणा गरेको थियो ।
यस वर्ष सो पुरस्कार वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीओम श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ । उहाँ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक र मधुुपर्क मासिकका पूर्वसम्पादक हुनुहुन्छ ।
यसैगरी, संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने एकजनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गर्ने परम्पराअनुसार यस वर्ष शाखा अधिकृत रामकुमार बस्नेतलाई प्रदान गरिने घोषणा गरिएको छ । पुरस्कारको राशि २५ हजार ५५५ नगद तथा सम्मानपत्र रहेको छ ।
गोरखापत्र संस्थानका विभिन्न प्रकाशनमा कार्यरत पत्रकारहरूमध्ये यस वर्ष उपत्यकामा कार्यरत दुई र सात प्रदेशबाट एक–एक जना गरी नौ जनालाई पुरस्कृत गरिने
भएको छ ।
पुरस्कृत हुनुहुुने पत्रकारहरूमा प्रदेश १ बाट महेन्द्र विष्ट–मोरङ, प्रदेश २ बाट धीरेन्द्र साह–सप्तरी, बागमतीबाट बाबुराम शर्मा– दोलखा, गण्डकीबाट तारा चापागाईं दुवे– कास्की, लुम्बिनीबाट दीपक ज्ञवाली– बुटवल, कर्णालीबाट कमल शर्मा– दैलेख र सुदूरपश्चिमबाट गोकर्ण दयाल– बैतडी हुनुहुन्छ ।
यसैगरी, उपत्यकाबाट गोरखापत्रमा कार्यरत पत्रकार भउचप्रसाद यादव र द राइजिङ नेपालमा कार्यरत आशिष मिश्रलाई पुरस्कृत गरिने भएको छ ।
संस्थानका प्रवक्ता तारा बस्यालले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम आयोजना हुन नसकेको र उपयुुक्त समयमा पत्रकार तथा कर्मचारीलाई पुुरस्कृत र सम्मानित गरिने जानकारी दिनुुभयो । आजको गोरखापत्र दैनिकबाट


























