काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ ।
प्रत्येक आवको फागुनसम्मलाई आधार मान्दा पछिल्लो ५ वर्षमा ११ हजार ४५० ऋणी कालोसूचीमा परेका छन् । २०४६ सालदेखि चालू आर्थिक वर्षको फागुन २८ गतेसम्ममा भने कालोसूचीमा पर्ने ऋणीको संख्या १५ हजार २९५ पुगेको छ ।
ऋणीहरू बैंकमा आफ्नो दायित्वमा रहेको साँवा, ब्याज चुक्ता गरेर कालोसूचीबाट हटेका पनि छन् । तर, लामो समयदेखि ऋण चुक्ता नगरेका ऋणीहरू कालोसूचीमै रहने गर्छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा कर्जा सूचना केन्द्रले कालोसूचीमा परेका ऋणीहरूको संख्या सार्वजनिक गर्ने गर्छ । केन्द्रले यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको यस्तो सूची सार्वजनिक गर्दै आएकोमा चालू आर्थिक वर्षदेखि भने लघुवित्तको पनि सार्वजनिक गर्न थालेको छ ।
आर्थिक वर्ष २०७३/०७४ फागुनसम्ममा कालोसूचीमा परेर चुक्ता नगरेका ५५९ ऋणी अझै सूचीबाट हटेका छैनन् । यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा यस्तो संख्या ८४६ र २०७५/०७६ मा १ हजार ५२८ रहेको छ । यसैगरी २०७६/०७७ मा ३ हजार ७५० र २०७७/०७८ फागुनसम्ममा यस्ता ऋणीको संख्या ४ हजार ७६७ छ । आजको आर्थिक अभियान दैनिकबाट


























