काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकाससँगै समृद्धिका लागि सार्वजनिक निजी सहकार्य र सामुदायिक क्षेत्रको सहभागितामा आर्थिक गतिविधि अगाडि बढाए आर्थिक विकासले तीव्रता पाउने बताउनु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव विशेष समारोह सोमबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले देशको विकास र समृद्धिका लागि सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार पार्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनुपर्ने स्पष्ट पार्नुभयो ।
निजी क्षेत्रका प्रतिनिधिमू्लक संस्थाले मुलुकको आर्थिक अवस्था सुधार तथा व्यवसाय विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने भन्नुहुँदै राष्ट्रपतिले चेम्बरको प्रशंसा गर्नुभयो । उहाँले आर्थिक विकासबाट समृद्धि हासिल गर्न व्यावसायिक क्षेत्रको योगदान अपरिहार्य हुने आँैल्याउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले नेपाली मूल्य र मान्यता आत्मसात् गर्दैै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा गरेको योगदानबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण आधार निर्माण हुने स्पष्ट पार्नुभयो । सांस्कृतिक पर्यटनका लागि आवश्यक वस्तुहरूको उत्पादनमा जोड दिन पनि उद्योगी व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले बजेट निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै निजी क्षेत्रका समस्याबारे परामर्श गरिने बताउनुभयो । सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न र त्यस क्षेत्रका समस्या समाधान गर्न सधैँ तत्पर रहेको उहाँले स्पष्ट पार्नुभयो ।
“निजी क्षेत्रका समस्या सुन्न र समाधान गर्न हामीले पर्याप्त ध्यान दिएका छौं”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको संयुक्त प्रयासले यो लक्ष्य पूरा हुने हो । जीवन्त सहकार्यका लागि सरकार तयार छ ।”
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जनताको क्रयशक्ति बढाउने, आर्थिक वृद्धि गर्ने, राजस्व वृद्धि र थप रोगजारी बढाउन नयाँ बजेट केन्द्रित गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल चेम्बर अफ कमर्सले प्रकाशन गरेको ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ विमोचन गर्नुभएको थियो ।































