GB Koirala Banner Ad New

सुन जस्तो देखिने पहेलो धातुसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो रङको धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेवपुर नगरपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ५२ वर्षीय नारायण कृष्ण श्रेष्ठ रहेका छन् ।

प्रहरीले निज श्रेष्ठको साथबाट पहेलो रङको धातुसहितको पत्थर जडित करिब ४६ ग्राम, २० मिलिग्राम तौलको औठी २ थान र करिब ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री १ थानसहित गएराति पक्राउ गरेको हो ।

नेपाल एयरलाईन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पाइन्टको गोजीमा लुकाइ छिपाइ भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित श्रेष्ठलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।