GB Koirala Banner Ad New

काठमाडौँ महानगरमा २ लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौं। काठमाडौँ महानगरपालिकामा करिब २ लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ। महानगरमा दर्ता भएका करदाता ३ लाख १२ हजार भए पनि २ लाखले नियमित कर नतिर्ने गरेका हुन्।

यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब १ लाख करदाता रहेको छन्। त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा १ लाखको हाराहारीमा रहेको राजस्व विभागका प्रमुख धु्र्व काफ्लेले जानकारी दिए। उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी भइरहेको छ।

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि २ अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए। उक्त रकम विगत १२ वर्षदेखिको रहेको महानगरको भनाइ छ। दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्न महानगरले वडास्तरीय अनुगमन गरी नियमसंगतरुपमा ल्याउने तयारी गरेको महानगर राजस्व विभागले बताएको छ।