GB Koirala Banner Ad New

असोज ३ देखि सूर्यविनायक- रत्नपार्क द्रुत बस सेवा चल्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ।

उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए।

भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौ’ मन्त्री ज्वालाले भने ‘आगामी असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ। त्यसपछि क्रमशः अन्य रुटमा पनि चलाउन थाल्छौं।’

पहिलो चरणमा द्रुत बस सेवा अत्याधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन प्रयोग हुनेछ। यस्तो बसको रङ समेत फरक हुने मन्त्रालयले जनाएको छ।

अत्याधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा डेढ घण्टासम्म लाग्ने गरेको छ।

‘द्रुत बस सञ्चालन भएपछि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।

मन्त्री ज्वालासहित यातायात राज्यमन्त्री, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विभागका उपमहानिर्देशक रामहरी पोखरेल, निजी सचिव रामहरी शर्मा, ट्राफिक प्रहरीका डिआइजी र एसएसपी, यातायात व्यवसायी महासंघका पदाधिकारीहरूसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने मन्त्रालयको भनाइ छ। यस्तो बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न सकिनेछ।