काठमाडौं । घुस नपाई एउटा टेवलको फाइल अर्को टेवलमा नसार्ने विगतको परिचय बनाएका मालपोत कार्यालयका कर्मचारीहरू अहिले पुरै सुघ्रिएका छन।
घुस खाने कुलत,भष्ट आचरण, कार्यालयको व्यवस्थापकीय र भौतिक सुधारपछि मालपोत र नापी कार्यालयमा अहिले सेवाग्राहीले छिटो छरितो सेवा पाउन थालेको अनुभूति गर्न थालेका छन्।
मालपोत कार्यालयका प्रमुखको अठोट र दृढता भयो भने सरकारी कार्यालयलाई प्रशस्तै सुधार गर्न सकिन्छ भन्ने एउटा जवलन्त उदाहरण हो– भक्तपुर मालपोत कार्यालय ।
भक्तपुरको च्याम्हासिंहमा रहेको मालपोत कार्यालय भक्तपुर अहिले मुलुकका अन्य १३० वटा कार्यालयभन्दा सेवा प्रवाहमा सबै भन्दा उत्कृष्ट छ । कार्यालय कम्पाउण्डभित्र फलफुल र बोटविरुवाहरु रोपिएका छन् भने अन्य संरचनागत र ब्वस्थापकीय परिवर्तन पनि अन्यत्रको भन्दा निकै आकर्षक रहेको छ ।
त्यतिमात्र होइन निकै झन्झटिलो र ढिलासुस्ती सरकारी सेवाबाट त्यहाँ जाने सेवाग्राहीहरु मुक्त पनि भएका छन् ।
डेढ वर्ष अगाडि मालपोत कार्यालय कलंकीबाट सरुवा भई भक्तपुरको मालपोत कार्यालयमा जिम्मेवारी सम्हाल्न आई पुगेका प्रमुख मालपोत अधिकृत देवीप्रसाद भण्डारीको संकल्पर दृढ अठोटका कारण सम्भव भएको हो ।
भण्डारी कार्यालय प्रमुख रहँदा कलंकी मालपोतमा पनि निकै संरचनागत र व्यवस्थापकीय सुधार गरेर सुशासन शुरू गरेका छन् । नमुना मालपोत कार्यालय निर्माण गर्ने अठोटका साथ भण्डारीले शुरु गरेको योजना सम्पन्न भएपछि त्यसको उदघाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल असार ४ गते गरेका थिए ।
कार्यालय प्रमुख भण्डारीको सुधार कार्यबाट प्रभावित प्रधानमन्त्री ओलीले सँगै गएकी भूमिसुधार मन्त्री पदमा अर्याललाई ठाडो निर्देशन दिए– ‘अर्को कार्यालय सुधारका लागि भण्डारीलाई अन्यत्र पठाउनु ।’ प्रधानमन्त्री ओलीको सोही निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले पहल गर्यो र उनलाई भक्तपुर मालपोत कार्यालयको जिम्मेवारी दिइयो ।
भक्तपुरमा सरुवा भएपछि त्यतिबेलैदेखि उनले भक्तपुर मालपोत कार्यालयको संरचनागत र व्यवस्थापकीय सुधार सुरु गरे। उनले सुरु गरेको सुधारको परिणाम अहिले सेवाग्राहीहरुले छिटो छरितो,प्रभावकारी र पारदर्शी सेवा पाएका छन्।
मालपोतका कार्यालयका कामलाई अहिले मुलुकैभर पेपर लेस बनाईएको छ। मुलुकभर रहेका १३१ कार्यालयमा अनलाइन प्रबिधिबाट काम हुने गरेको छ । त्यसलाई ब्यबस्थित रुपमा सन्चालन गर्ने काममा कार्यालय प्रमुख भण्डारी निकै सकृय छन् ।
प्रबिधिमा दक्ष प्राविधिक जनशक्ति रहेको भक्तपुर मालपोत कार्यालयसँग झण्डै डेढ सय भूसेवा केन्द्रहरु जोडिएका छन् । जोडिएका तिनै भूसेवा केन्द्र मार्फत सेवाग्राहीका काम सहज ढंगले हुने गरेको छ। काममा छिटोछरितो, पारदर्शिता,अभिलेखको संरक्षण र राजस्व चुहावट अन्त्यका लागि अनलाइन प्रणाली प्रभावकारी भएको छ।
उनले कार्यालयमा प्रबिधिको प्रयोगलाई प्रभावकारी बनाउनुको अलावा कार्यालय प्रमुख भण्डारीले मुख्य गरि भक्तपुर मालपोतमा ब्यबस्थापकीय र संरचनागत गरि दुईवटा सुधारलाई प्राथमिकता दिएका छन । यो सुधारले काम लिएर त्यहाँ जानेहरूलाई काममा निकै सहज र छिटो काम भएको सेवाग्राहीहरुको प्रतिक्रिया सुनिएको छ।
भक्तपुर मालपोत कार्यालयमा संरचनागत सुधार अन्तर्गत ब्यबस्थित कार्यालय निर्माण रहेको छ। कार्यालय भित्र रहेका दर्जनौं कोठाहरु भत्काएर अहिले एउटै बनाईएको छ। कार्यालयका कर्मचारीहरुले के गर्दैछन् त्यो सेवाग्राहीले स्पस्ट देख्न सक्ने समेत बनाईएको छ ।
सेवाग्राही बस्नका लागि दर्जनौं कुर्सीहरु मालपोत कार्यालयमा राखिएका छन्। आफ्नो काम नहुन्जेल तिनै कुर्सीमा बसेर उनीहरूले टिभी हेर्न पाउने ब्यबस्था समेत गरिएको छ।
कार्यालयमा मोठश्रेष्ता सुरक्षाका लागि पोकापन्तुरा कस्ने झन्झट पनि कर्मचारीलाई हटेको छ। भएका सबै अभिलेखहरु खोज्न सहज र सुरक्षित हुने गरि अहिले काठको दराज प्रयोगमा ल्याउनुका साथै डोरलक सिस्टम जडान गरिएको छ ।
जसले गर्दा लेखापढी ब्यबसायी र सेवाग्राहीहरु मोठश्रेस्ता भए ठाउँसम्म विगतमा झै पुग्न पाउँदैनन्।जनताको निजी सम्पत्तिको सुरक्षाका लागि कार्यालयले यस्तो व्यवस्था गरेको छ। मालपोत कार्यालय भक्तपुरका प्रमुख भन्डारी भन्छन,( ‘डोरलक सिस्टम भएपछि अभिलेख च्यातिने र हराउने डर हुँदैन।’
ब्यबस्थापकीय सुधार अन्तर्गत भक्तपुर मालपोत कार्यालयमा एकद्वार प्रणाली लागू गरिएको छ। यो प्रणाली अन्तर्गत सर्बसाधरणले एउटै फाँटबाट सबै प्रकारका सेवा सहजै प्राप्त गर्ने गरेका छन् ।
सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखेर एउटै फाँटमा मालपोत अधिकृत,रजिष्ट्रेशन शाखा, मोठ शाखा र कम्प्युटर शाखाको ब्यबस्थापन गरिएकाले अहिले फाइल बोकेर कोठा(कोठा चाहर्नुपर्ने झन्झट हटेको छ। एकद्धार प्रणालीका लागि विभिन्न क्षेत्रको बिभाजन गरि फाँटहरुको ब्यबस्थापन गरिएको छ। वानडोर सेवा प्राप्त छ । छिटोछरितो र पारदर्शी सेवा प्राप्त हुन थालेको सेवाग्राहीहरूले स्वयम् अनुभूति गरेका छन।
कार्यालयको व्यवस्थापकीय र भौतिक सुधार गर्दा अहिले मालपोत कार्यालय झण्डै ३० लाखरुपैयाँ ॠणमा रहेको छ । त्यसमध्ये अहिले भुमि व्यवस्थापन तथा अभिलेख बिभागबाट १० लाख बजेट प्राप्त भएको छ । बजेट आउँदै गर्छ तर सुधारका काम हामी रोक्दैनौं भण्डारीले भने।
कुनै पनि सुधार कार्यका लागि सबैमा केहि गरौं भन्ने भावनाको बिकास हुनु जरुरी रहेको छ। हाल गृह मन्त्रालयको सचिवको जिम्मेवारी पाएका टेकनारायण पाण्डे यसअघि भुमिसुधार मन्त्रालयको सचिव थिए ।
भूमि ब्यबस्थापन तथा अभिलेख बिभागको महानिर्देशक शेषनारायण पौडेल छन् । मन्त्रालय र बिभाग अन्तर्गतका कार्यलयहरुलाई ब्यबस्थित सन्चालन गर्ने उनीहरुको तीब्र अभिलाशा र प्रयासले पनि भूमि सुधारको क्षेत्रमा उल्लेख्य सुधार आएको कार्यालय प्रमुख भण्डारीको निष्कर्ष रहेको छ।
डेढ बर्ष अघिसम्म मुलुकभरका मालपोतमा गरि जम्मा १७ जना उपसचिवको दरबन्दी थियो,अहिले ६१ दरबन्दीमा ५५ जना उपसचिव कार्यरत छन्,यो उनीहरुकै देन हो ।































