काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव विष्णु पौडेल गत भदौं ४ गते शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न दुतका रूपमा बालुवाटार पठाएका थिए ।
पौने घण्टा बालुवाटारमा बसेका एमाले उपमहासचिव पौडेल आधा घण्टा प्रधानमन्त्री देउवासँग ओलीको दूतका रुपमा छलफल गरेर फर्किएका थिए ।
स्रोतका अनुसार, ओलीले माधव समूहका ८० प्रतिशत सांसद आफूतिर आएको सन्देश पौडेल मार्फत बालुवाटार पठाएका थिए । ओलीको कार्यकालमा भएका सम्पूर्ण नियुक्तिहरु खारेज गर्ने तयारी रोकिनुपर्ने ओलीको माग पौडेलले राखेका थिए ।
यदि त्यसो गरिए सरकारका कामहरुलाई ओली समूहले बाधा नपुर्याउने जस्ता कुरा उक्त भेटमा भएको स्रोतले बताएको छ । ओलीले देउवालाई माधव समूहसँग मिल्नुभन्दा १७ महिना आलोपालोको सहमति गरेर आफूसँग सत्ता सहकार्य गर्न सन्देश पठाएको चर्चा छ ।
तर, देउवाले पाँच दलीय गठबन्धनको निर्णयबिना आफूले केही गर्न नसक्ने र प्रशासनिक बाहेक राजनीतिक नियुक्ति खारेज गर्ने जवाफ दिएको स्रोतले बताएको छ ।
देउवा १७ महिना सुरक्षित भएकाले पाँच दलिय गठबन्धन तोडेर ओलीसँग यो अवधिभर सहकार्य गर्न असमर्थ रहेको दुत मार्फत ओलीलाई सन्देश दिएको बालकोट दरवार स्रोतले बताएको छ।





























