GB Koirala Banner Ad New

बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीको आग्रह

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहे पनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘बजेट भाषण आफँैमा खराब हुँदैन । बजेटमा सरकारले दिन्न भन्ने केहि छैन । सबै चिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।’

श्रेष्ठले गतवर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गर्नुभयो । तल्लो तप्काका जनता जो कमाए÷साँझ बिहान हातमुख जोड्नु पर्ने अवस्थाका छन् उनीहरुलाई बजेटले के इफेक्ट गर्ला भन्नेमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

उहाँले सरकारले बजेट मार्फत साना तथा मझौला उद्योगलाई छुट दिने भने पनि जब व्यापार नै छैन भने छुटको के मतलव भयो ? भन्दै प्रश्न गर्नुभयो ।

अहिले सरकार ऋणात्मक बजेटमा रहेको भन्दै उहाँले यो अवस्थामा सरकारले सामाजिक सुरक्षाभत्ता, राष्ट्र सेवकको भत्ता बढाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जब देश समृद्धि हुन्छ, तब सामाजिक सुरक्षा बढाउनु राम्रो हुन्छ ।

अहिले १०० बढाएर केहि उपलब्धी हुन्छ जस्तो लाग्दैन । राष्ट्रसेवकको २ हजार तलव बढाएर केहि फरक पार्दैन । यो देखावटी मात्र हो ।’ कार्यक्रममा नेपाल हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र, साना तथा मझौला व्यवसाय, विद्युतीय सामानको भन्सार छुट लगायतका पक्षलाई समेट्न सकेको भन्दै यो राम्रो पक्ष रहेको बताउनुभयो ।

क्षेत्रीले बजेटले स्वदेशी उत्पादनलाई महत्व दिएको भन्दै लागु भएमा नेपालको उत्पादन क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । बजेट राम्रोसँग कार्यान्वय भएमा नेपालको आर्थिक विकासमा टेवा पुग्ने क्षेत्रीको भनाइ छ । क्षेत्रीले भन्नुभयो, ‘बजेटले धरासायी भएका व्यवसायलाई पुनर्कर्जाको व्यवस्था गरेको छ । यो राम्रो पक्ष हो । तर कार्यान्वयन पक्ष कस्तो हुन्छ, त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

हस्तकला महासंघ वागमति प्रदेशका अध्यक्ष होमनाथ उपाध्ययले बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटमा ६२ प्रतिशत राजश्व असुली भन्ने छ, त्यो कति सम्भव छ ।

त्यस तर्फ ध्यान दिनु पर्नेछ ।’ गतवर्षहरुमा पनि सरकारले सर्टिफिकेट धितोमा राखेर लोन दिने भने पनि खासै कार्यान्वयन हुनु नसकेको उहाँको भनाइ छ । सरकारले ल्याएको बजेट कार्यान्वयमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

मिनरल वाटर एसोसिएसनका पूर्व अध्यक्ष धर्मनन्द श्रेष्ठले चुनावलाई रिझाउने खालको बजेट आएको बताउनुभयो ।
अध्यादेशबाट बजेट आएको भन्दै राजनीतिक तरलताका कारण सकारात्मक रुपमा लिन नसकिएको उहाँको भनाई छ ।

अर्बौ रुपैयाँको आयत गरेर देश घाटामा गएको अवस्थामा उत्पादनलाई बजेटले छुन नसकेको उहाँले बताउनुभयो । चुनावी बजेट भएकाले उत्साहित हुनुपर्ने अवस्था नरहेको उहाँको भनाई छ ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले कार्यान्वयनमा ध्यानदिन सके बजेटले सबै कुरा समेटेको बताउनुभयो । तर बजेटले लत्ता कपडा आयतमा भन्सार छुट दिन नसकोको भन्दै चर्को भन्सार कर तिर्न बाध्य भएको गुनासो गर्नुभयो ।

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष सरोजकुमार श्रेष्ठले सरकारले उद्योग क्षेत्रमा व्याजदर कमी गरे पनि पहुँचवालालाई मात्र सहज भएको बताउनुभयो । कोरोनाका कारण उद्योग, व्यापारको अवस्था नाजुक भएको अवस्थामा पुनरुत्थान गर्ने नीतिगत रुपमा सरलिकृत हुनुपर्ने उहाँको भनाइ छ ।  मह व्यावसायी धर्मराज श्रेष्ठले कृषि क्षेत्रमा पनि कच्चा पदार्थ र कामदारको अभाव हुन थालेको बताउनुभयो ।

कृषि क्षेत्रलाई बैंकले व्याजदरमा छुट नदिएको उहाँको गुनासो छ । नेपाल मौरी पालनमाआत्मनिर्भर हुन नसकेको भन्दै अन्य देशबाट मह ल्याउनु परेको बताउनुभयो ।

व्यवसायी रमेशचन्द वादे श्रेष्ठले बजेटमा मेडइन नेपाल र मेकइन नेपाल भन्ने अवधारण राम्रो रहेको बताउनुभयो । आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । विगतमा बजेट कार्यान्वयको पक्ष फितलो हुने गरेको भन्दै उहाँले बजेट सहि कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा होटल व्यवसायी कमल शर्माले बजेट सुन्दा राम्रो देखिएको तर व्यबसायीले प्रत्यक्ष लाभ लिन नसक्ने बताउनुभयो । उहाँले पनि बजेटको कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिनु भएको थियो ।