काठमाडौ । सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका छन् ।
सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताएका छन । १७ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले बजेट वक्तव्यमा घोषणा गरेका छन् ।
निर्यातजन्य वस्तुको उत्पादन र निर्यातमा प्रोत्साहन
सरकारले नेपालको व्यापार घाटा कम निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने भएको छ । आगामी वर्ष २०७८/०७९को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । नेपालबाट कफी र जुट लगायतका वस्तु विदेश निर्यात हुने गरेको छ ।
दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने, पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड बजेट
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।नेपाललाई आर्कषक, रमणिय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन। नीजि क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धुनषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्डेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुर्ननिर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन ।
काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवम् साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको छ ।
दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्ट लगायत निर्माण गर्न नीजि क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने पनि यस वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
रारा, सेफोक्शुन्डो, खप्तड लगायतका प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको छ । तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुवि भ्याली लगायतको क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने, पद यात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा र उद्धारका लागि जिपिएस ट्रयाकिङ सहितको एकिकृत पर्यटन सुचना प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ ।
त्यस्तै, इलामको माइपोखरी, सुनसरीको बर्जुताल, कपिलवस्तुको जगदिशपुर ताल, पाल्पाको सत्यावति ताल, रुकुमको स्यार्पु ताल लगायतका महत्वपूर्ण तालको संरक्षण गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा साहसिक पर्यटन प्रर्वद्धन गरिने र साहसिक पर्यटनको क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने उल्लेख गरिएको छ ।
प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए । सिम्रौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढी लगायत ऐतिहासिक गढी किल्लाको संरक्षण र विकास पनि गरिने भएको छ ।
काठमाडौंमा १०० विद्युतीय बस थपिने
सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने भएको छ । नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साझा बससँग मिलेर सरकारले विद्युतीय बस संचालन गर्ने बताए । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न देशैभर चार्जिङ स्टेसन खोलिने पनि उनले घोषणा गरेका छन।
१६२९ मेगावाट विधुत राष्ट्रिय ग्रिडमा जोडिने
सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, मध्यभोटेकोशी, माथिल्लो सान्जेन आयोजनाबाट १६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो लक्ष्य प्रस्तुत गरेका हुन् । जलाशययुक्त र अर्धजलाशय जलविद्युत उत्पादनका लागि आयोजनाहरुलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।
विद्युत उत्पादन लगायतका पूर्वाधार निर्माणका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयका लागि १ खर्ब २१ अर्ब विनियोजन गरिएको छ ।






























