काठमाडौं । राष्ट्रिय निकुञ्ज् तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर Recycling गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि Avni Ventures प्रा.लि. लाई २०७८ ज्येष्ठ ७ गते जङ्गी अड्डामा आयोजित कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको छ ।
फोहोर संकलनको क्रममा उक्त हिमालमा फेला परेको दुई वटा मानव अवशेष (कंकाल) आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि २०७८ ज्येष्ठ ५ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बुझाइएको छ ।
उक्त हिमालबाट संकलन गरीएको ५,०२० के.जी. फोहोर मध्ये Bio-degradable (सड्ने/कुहिने) ३०० के.जी. फोहोर २०७८ ज्येष्ठ ३ गते धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने Non Bio-degradable (नकुहिने) ४,७२० के.जी. फोहोर Recycling गर्ने प्रयोजनको लागि Avni Ventures प्रा.लि. लाई आज हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रमको दौरान मन्तव्य राख्दै सहायक रथी खड्काले हिमाल सफाईमा खटिएको टिमलाई बधाई तथा आर्थिक साझेदार Unilever Nepal Pvt. Ltd, सेवा प्रदायक Peak Promotion लगायत सम्बद्ध सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
आर्थिक साझेदार Unilever Nepal Pvt. Ltd का प्रबन्ध निर्देशक Amlan Mukherjee ले प्राकृतिक सम्पदाहरुको विनाश तिब्र रुपमा बढ्दै गइरहेको हालको परिप्रेक्ष्यमा धौलागिरी जस्तो पवित्र हिमालको संरक्षणमा नेपाली सेनासंग सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएको सन्देश पठाउनु भएको थियो ।
साथै, सफा हिमाल अभियान अन्तर्गत् विभिन्न ६ वटा हिमालहरुको सफाई कार्यक्रम २०७८ ज्येष्ठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई मनन गरेर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम २०७८ ज्येष्ठ ३ गते सम्पन्न गरिएको छ ।
मकालु हिमालको सफाई २०७८ ज्येष्ठ ११ गतेसम्म र सगरमाथा लगायत ल्होत्से तथा पुमोरीको सफाईलाई २०७८ ज्येष्ठ १५ गतेसम्म निरन्तरता दिइने योजना रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।































