काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइ सहित आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले जानकारी दिनुभयो ।
बैठकले खाद्यान्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ । यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।
बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ ।
सडकमा चहलपहल धेरै रहेकाले अत्यावश्यकबाहेकका सवारीको जाँच तथा कारबाहीलाई थप कडा गर्ने निर्णय पनि भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार ९भोलि० राति सकिँदैछ । बिहीवार ९पर्सि० देखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू हुने छ ।






























