GB Koirala Banner Ad New

अमेरिकामा फेरि अर्का नेपाली चालकमाथि यात्रुद्वारा आक्रमण

काठमाडौँ । सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले आक्रमण गरेको घटना नसेलाउंँदै न्युयोर्कमा फेरि नेपाली लिफ्ट चालक कुटिएका छन् ।

बाग्लुङ स्थायी घर भएका लिफ्ट चालक ३० वर्षीय आशीष सापकोटा मंगलबार साँझ न्युयोर्कको क्वीन्समा कुटिएका हुन् । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आक्रमण भएको हो ।

एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक–आपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि असुरक्षित महसुस गरेर सापकोटाले ९११ मा कल गरी प्रहरी बोलाएका थिए ।

त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि आक्रमण गरेका हुन् । ती यात्रुले चालक सापकोटामाथि कुटपिट गरे । त्यसपछि एम्बुलेन्स मार्फत सापकोटालाई न्युयोर्कस्थित जमैका अस्पताल लगिएको थियो । सापकोटाको मुख र कानमा चोट लागेको छ । सापकोटाले अमेरिकामा एक महिनादेखि लिफ्ट चलाउँदै आएका थिए । चालक सापकोटाको उजुरी न्युयोर्क प्रहरीमा पुगेपछि अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।