GB Koirala Banner Ad New

दरबार हाईस्कूललाई चिनियाँ सहयोग

काठमाडौँ । देशको सबैभन्दा पुरानो विद्यालय दरबार हाई स्कूललाई चिनियाँ सरकारले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । विसं २०७२ को भूकम्पबाट भत्केको उक्त विद्यालयको भवनको पुनर्निर्माण पनि चीन सरकारबाट नै भएको हो ।

चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा यहाँस्थित चिनियाँ राजदूतावासले पोशाक, १० हजार थान मास्क, पाँँच सय लिटर स्यानिटाइजर, एक हजार ५०० कपी, दुई बाकस सन्दर्भ पुस्तक, बास्केट बल, टेबलटेनिस, ब्याटमिन्टनका लागि आवश्यक पर्ने ब्याट, र्‍याकेटलगायत सामग्री उपलब्ध गराएको हो ।

यसअघि पनि चिनियाँ दूतावासले उक्त विद्यालयलाई फर्निचर लगायत सामग्री सहयोग गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा शैक्षिक सामग्री हस्तान्तरण गरे । रासस