काठमाडौं । नेपाल महिला चेम्बर ट्रेड फेयर आगामी फागुन २४ गतेदेखि २६ गतेसम्म संचालनमा आउने भएको छ । शुक्रबार जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने बताए।
साथै, अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रियता बढाउदै लगेको पनि जानकारी दिइन् ।अध्यक्ष श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन ।
नेपाल चेम्बर अफ कमर्शका महानिर्देशक कैलाशकुमार बजिमयले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरको संयुक्त आयोजनामा हुन गईरहेको उक्त मेलाले देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत मिल्ने धारणा राखे । साथै उनले स्टल बुकिङ र आगन्तुकलाई आकर्शित गर्ने गरि तयारी भैरहेको पनि जनाए ।
उक्त मेलाका संयोजक तथा नेपाल चेम्बर अफ कमर्शका ट्रेड कमिटी संयोजक राष्ट्र भुषण चाकुबजीले उक्त मेलाले नेपाली महिला उद्यमीलाई प्रोत्साहन मिल्ने धारणा राख्दै मेलालाई सफल पार्न सम्बन्धित सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्माले अन्तरराष्ट्रिय उडान अवरुद्ध भैरहेको वर्तमान स्थिती माझ आन्तरिक बजार प्रबर्द्धनका लागि मेला कोशेढुङा बन्ने राय पेश गरिन ।






























