काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चैत १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १०औं वार्षिक साधारण सभा पञ्चकन्या बैंक्वेट वनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले ९.६८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
मिर्मिरेले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ९.१९% बोनस सेयर र कर प्रयोजनको लागि ०.४८% नगद लाभांश वितरण गर्न लागेको छ ।
संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा वित्तीय संस्थाका तत्कालीन संस्थापक सेयरधनीलाई राखेर कल्स इन एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने एजेन्डा पनि राखेको छ ।
त्यस्तै, स्वेडा लघुवित्तलाई प्राप्तीपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि मिर्मिरेले चैत ८ देखि चैत १८ गतेसम्म बुक क्लोज गरिसकेको छ । चैत ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् ।


























