GB Koirala Banner Ad New

नेप्सेमा आज ५.५४ अंकले सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अंकले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अंकमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर ३५ हजार पाँच सय ४९ पटक खरिदबिक्री हुँदा ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज उत्पादन तथा प्रशोधन समूह १४ दशमलव १४, लघुवित्त समूह छ दशमलव ६९, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८, अन्य समूह शून्य दशमलव ५४ र व्यापार समूह २६ दशमलव ९२ अंकले बढेको छ । आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज वित्त समूह एक दशमलव ६३ अंकले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूह चार दशमलव १३, विकास बैंक समूह १८ दशमलव १५, जलविद्युत् समूह पाँच दशमलव ९६, लगानी समूह शून्य दशमलव ०९ र जीवन बीमा समूह १६ दशमलव १६ अंकले बढेको छ ।

शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै छ करोड ८४ लाख १८ हजार छ सय ४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सानिमा मिडिल तमोरको दुई लाख छ हजार दुई सय ४७ कित्ता शेयर किनबेच भएको छ ।