काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक ‘नेप्से’ ओरालो लागेको छ । अघिल्लो हप्ताभरि नै घटेको नेप्से यो हप्ताको पहिलो दिन पनि ५१ दशमलव २३ अंकले घटेर २ हजार ४ सय ७ अंकमा झरेको हो । नेप्से अघिल्लो आइतबार २४ सय ९१ विन्दुमा झरेको थियो ।
होटल र जलविद्युतबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेको छ । आज बैंकिङ समूहको शेयर ३२ अङ्कले घटेको छ भने, व्यापार समूहको दुई सय १३ अङ्कले, विकास बैंकको ३९, फाइनान्सको झण्डै १९, निर्जीवन बीमाको तीन सय ७४, जीवन बीमाको चार सय ५३, उत्पादन र अन्य समूहको ९६, माइक्रो फाइनान्सको ९० र व्यापार समूहको शेयर साढे दुई अङ्कले ओरालो लागेको छ ।
दुई सय ११ कम्पनीका ९९ लाख तीन हजार कित्ता शेयर चार अर्ब ९५ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको कारोबार भएको छ । यो कम्पनीको ४४ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।
हिमालयन पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै १० प्रतिशतले घटेको छ । तर चन्द्रागिरि हिल्स, माथिल्लो तामाकोशी, पञ्चकन्या माई, घलेम्दी र रैराङ जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।































