GB Koirala Banner Ad New

विश्व कोरोना कहरमा हुँदा पनि चीनको जिडिपी १८.३ प्रतिशतले बढ्यो

बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तीव्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक त्यहाँको सरकारी तथ्यांकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तीव्र विकास भएको हो ।

चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।

यद्यपि, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो । सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको वुहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।

राष्ट्रिय तथ्यांक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिनुभयो ।

अघिल्लो वर्षको तुलनामा जिडिपीमा तिब्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जिडिपीमा न्यून वृद्धि पनि हो, उहाँले भन्नुभयो । गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्याँकले देखाएको छ ।

औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४।५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो ।

प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताउनुभयो । विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् । चीनमा शहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा शहरी बेरोजगारी ५।३ प्रतिशतको हाराहारीमा रहेको छ ।