GB Koirala Banner Ad New

महासंघका पदाधिकारी बालुवाटारमा

काठमाडौं । एक वर्ष अघि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी भैरहेको थियो । त्यसवेला वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र चण्डिराज ढकालबीच लडाई थियो । गोल्छा र ढकालबीचको ‘वाक युद्ध’ निर्वाचनमा होमिएको दुई खेमालाई समाल्न कठिन थियो ।

शेखर गोल्छालाई महासंघको बरिष्ठ उपाध्यक्षमा जिताउन अघिल्लो निर्वाचनमा काँध थापेका ढकाल र गोल्छाबीच बीचैमा सम्बन्ध बिग्रिएको थियो। दुई जनाबीचको द्वन्द्वले महासंघको अध्यक्ष भवानी राणाको कार्यकाल नै हलुका र फिक्का बनेको थियो । अध्यक्ष राणा भएपनि वास्तविक अध्यक्ष चण्डीराज ढकाल थिए।

गोल्छालाई महासंघको अध्यक्ष बन्न रोक्ने योजना सहित ढकालले महासंघको एउटा खेमाको नेतृत्व लिएका थिए । त्यस क्रममा उनले विधान संशोधनको लागि ठूलो प्रयास गरेका भएपनि अन्ततः ढकाल विफल भएका थिए ।

गत निर्वाचनमा शेखर गोल्छाले पनि चण्डिराज ढकालमाथि बदला लिन सबै शक्ति प्रयोग गरेका थिए । चण्डिराजको समर्थन रहेको र चन्द्रप्रसाद ढकालको नेतृत्वमा रहेको चुनावी समूहलाई पराजित गर्न गोल्छाले कुनै कसरत बाँकी राखेका थिएनन् ।

नतिजा दुबैले सोचे जस्तो भएन । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भए । कार्यसमितिमा गोल्छाले समर्थन गरेको समूहबाट स्पष्ट वहुमत सदस्य सहित विजयी भएका थिए ।

गोल्छा अध्यक्ष भएपछि महासंघमा चण्डिराजको राज अन्त्य भएको थियो । अध्यक्ष गोल्छाले सबै पूर्व अध्यक्षहरुलाई कुनै न कुनै जिम्मेवारी दिएका थिए ।

तर चण्डिराजलाई कुनै भूमिका दिएका थिएनन् । चण्डीराज ढकालले २०६७ सालदेखि खादै आएको विशिष्ट सदस्य पद गुमाएका थिए । उक्त पदमा पूर्व अध्यक्ष पशुपति मुरारकालाई गोल्छाले नियुक्त गरेका थिए ।

यसरी गोल्छा र ढकालबीच द्वन्द्व र निर्वाचनपछि सार्वजनिक रुपमा दुबै जना एकै ठाउँमा उभिएका थिएनन् । तरआज साउन २१ गते विहीबार गोल्छा र ढकाल दुबैजना पुष्प गुच्छा लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

सार्क चेम्बर अफ कमर्शका पदाधिकारी र महासंघका पदाधिकारीबीचमा उभिएर गोल्छा र ढकालले फोटो खिचाएका छन् ।

फोटोमा दुबैले बाँयाँ हातले फुलगुच्छा च्यापेको र दायाँ हात छातीमा राखेको देखिन्छ । तर बास्तविकता अर्कै थियो । गोल्छा फोटो खिचाउन कालो चस्मा खोलेर कोटको खल्तीमा राख्दै थिए । ढकाल मास्क खोलेर पुरै अनुहार खुलाउँदै थिए ।

भारतले सार्कलाई छोडेर विमिस्टेकलाई अगाडि बढाएपछि सार्क चेम्बर अफ कमर्श पनि निष्क्रिय भएको छ । भारतले एक वर्षअघि नै सार्क चेम्बर अफ कर्मशको औचित्य नरहेको जनाउँदै यसको सचिवालय समेत खारेज गर्न पत्र लेखेको थियो ।

सार्क चेम्बर अफ कमर्शलाई व्यूताउनुपर्छ, त्यसमा प्रधानमन्त्रीको तहबाट पहल गरियोस भनेर सार्क चेम्बर अफ कमर्शले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

त्यस कार्यक्रममा जान नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष गोल्छालाई निम्ता गरियो र उनीबालुवाटार गएका छन्। निर्वाचनपछि संभवत गोल्छा र ढकाल वीच आज पहिलो भेट भेट भएको छ।