GB Koirala Banner Ad New

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब निक्षेप उठाउँदै 

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले निक्षेप उठाउन लागेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।

यसको लागि आज साउन २१ गते अपरान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत बोलकवोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

उक्त निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ । केन्द्रीय बैंकले साउन २८ गते साँवा फिर्ता दिने गरी निक्षेप संकलन गर्न लागेको हो ।

यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ पर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने शर्त राष्ट्र बैंकले तोकेको छ ।

यसैगरी निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।