काठमाडौँ । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिईकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोबार नगर्न/नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानुनी दायरामा ल्याउने समेत केन्द्रीय बैंकले जनाएको छ ।
केही सेवा प्रदायकले अनुमति नै नलिईकन कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो ।
केन्द्रीय बैंकको सूचनामा भनिएको छ, “यस बैंकबाट अनुमतिपत्र नलिई भुक्तानीस म्बन्धी कार्य नगर्न/नगराउन गैरकानुनी र दण्डनीय हुने भएकाले अनुमति प्राप्त संस्था मार्फत मात्र विद्युतीय भुक्तानी सम्बन्धी कार्य गर्न/गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”
अनुमति नै नलिई अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टप अप सेवा, अनलाइन पेमेन्ट लगायतका भुक्तानी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको भुक्तानी प्रणाली विभागले जनाएको छ ।
केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ ।





























