काठमाडौँ। चलचित्र निर्माता राजकुमार राईले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। उनले ‘पापी मान्छे–३’ निर्माणको घोषणा गरेका हुन्।
‘पापी मान्छे–३’मार्फत राजकुमार ६ वर्षपछि चलचित्र निर्माणमा फर्किन लागेका हुन्। उनले ६ वर्ष अगाडि ‘वान वे’ निर्माण गरेका थिए।
“हाम्रो सिनेमाको मुख्य पात्र चिम्पान्जी हो,” निर्माता राजकुमार राईले भने।
चलचित्रलाई जनकदीप पराजुलीले निर्देशन गर्नेछन्। उनले एक दशकभन्दा लामो समयपछि निर्देशन गर्न लागेका हुन्। उनका अनुसार एनिमल राइट्सका कारण कुनै पनि जनावरलाई सिनेमामा खेलाउन नपाइँदैन। “एनिमल राइट्सका कारण चिम्पान्जीलाई खेलाउन नपाएपछि हामी चिम्पान्जीका लागि भीएफएक्सको प्रयोग गर्नेछौँ,” जनकदीपले भने, “यसका लागि हामी नेपालभित्र र बाहिरका भीएफएक्सको काम गर्ने कम्पनीसँग छलफल गरिरहेका छौँ।”
चलचित्रमा को–को कलाकार रहनेछन् त्यो भने उनले खुलाउन चाहेनन्। सिनेमाको स्क्रिप्ट लेखन कार्य भइरहेको उनको भनाइ छ। नेपालबाहिरका कलाकार पनि चलचित्रमा रहने उनले जानकारी दिए। यो वर्ष छायांकन हुने चलचित्र अर्को वर्ष रिलिज हुने निर्देशक पराजुलीले बताए।






























