सीडीएस एण्ड क्लियरिङका अनुसार घोराही सिमेन्टको आइतबार साँझसम्म २ करोड ४७ लाख ४३ हजार ६ सय कित्ता आइपीओ माग भएको छ। माग गरेको भन्दा यो ३.५८ गुणा आवेदन हो। कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन मागेको थियो।
कम्पनीले प्रिमियम थप गरेर आइपीओ बिक्री गरेको हो। आइपीओको प्रति कित्ता मूल्य ४३५ रुपैयाँ छ
कुल १० अर्ब ७६ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। ६ लाख ३१ हजार ३२८ जनाले आवेदन दिएका छन्। नयाँ आवेदन दिने, आवेदन रद्द गर्ने अथवा फेरबदल गर्ने म्याद आइतबार सकिएको छ।
फर्जी आवेदनले विवादित बनेपछि गत असार ४ गते धितोपत्र बोर्डले घोराहीको आइपीओ स्थगित गरेर अनुसन्धान अघि बढाएको थियो। तर, फर्जी आवेदनसँग कम्पनीको संलग्नता नरहेको निष्कर्ष निकाल्दै बोर्डले आइपीओ प्रक्रिया पुन: सुचारु गर्न अनुमति दिएको हो।






























