GB Koirala Banner Ad New

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन साँखु इकाइमा बस्नेत भारी मतले अध्यक्षमा निर्वाचित

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति साँखुको अध्यक्षमा दिलिप बस्नेत भारी मतले निर्वाचित भएका छन् । आफ्ना निकटतम् प्रतिद्वन्द्वी विनोद श्रेष्ठभन्दा ८३ मत बढी ल्याएर बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा भीमसेन श्रेष्ठ, सचिवमा सरोज अधिकारी, सहसचिव अमृत कुईंकेल, कोषाध्यक्षमा मनोज न्यौपाने, सह कोषाध्यक्ष गोमादेवी न्यौपानेसहित सदस्यहरुमा क्रमशः राजेश श्रेष्ठ, राजन चौलागाई, शशिकुमार बस्नेत, बिजु ओझा, सुशीला गुरागाईं, बिमला खड्का र सुजन अधिकारी रहेका छन् ।

लामो समयदेखि अधिवेशन तथा साधारणसभा हुन नसकिरहेको अवस्थामा विश्वव्यापीरुपमा फैलिएको कोभिड र पछिल्लो समय सरकारले जग्गा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिएसँगै कित्ताकाटमा सरकारले लगाएको रोकावटका कारण पनि व्यवसायीहरुमा नैराश्यता छाइरहेको थियो । यस्तो विषम परिस्थितिमा साधारणसभा तथा अधिवेशन गर्नु आफैैँमा चुनौती त थियो नै, तथापि निवर्तमान सचिव एवं नवनिर्वाचित अध्यक्ष बस्नेतले तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको पहलकदमी लिएका थिए । निर्वाचनलगत्तै नवनिर्वाचित अध्यक्ष डिप्लोम्याट खबर डट कम संग संक्षिप्त कुराकानी गर्दै भने, “एसोसिएसनको साधारणसभा तथा अधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने थियो, तर लामो समयसम्म कोभिडका कारण विश्व नै अक्रान्त बन्यो । साथै पछिल्लो समय संघीय सरकारले जग्गाको वर्गीकरण स्थानीय तहलाई दिएसँगै जग्गाको कारोबारमा समेत मन्दी छाएको छ । जग्गाको कित्ताकाट रोकिएको छ भने त्यसको असर देशका विभिन्न तह र तप्काहरुले भोगिरहनु परेको अवस्था छ । यस्तो विषम परिस्थितिमा साथीहरुलाई जुटाएर अधिवेशन गर्न सफल भइयो । आमन्त्रित साथीहरुलाई धन्यवाद दिन चाहान्छु र मसहित निर्वाचित हुनु भएका पदाधिकारी र सदस्यहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना छ । विगतका दिनमा केही कमीकमजोरी अवश्य भयो । त्यसैले गर्दा पनि हामीले समयमा नै साधारणसभा तथा अधिवेशन गर्न सकेनौँ । अबका दिनमा त्यस्ता कमीकमजोरीहरुबाट पाठ सिक्दै समयमा नै साधारणसभा तथा अधिवेशन गर्न पहलकदमी लिनेछु ।“

निवर्तमान अध्यक्ष रामशरण ढुंगानाको कार्यकालमा सचिवको भूमिका निभाएका बस्नेतको साँखु इकाइमा उच्च छवि छ । उनकै पहलकदमीमा हालै सम्पन्न अधिवेशनमा समितिले मालपोत र नापी कार्यालयका दुबै कार्यालय प्रमुखहरुलाई उपस्थित गराउन सफल भएको थियो भने शंखरापुर नगरपालिकाका उपप्रमुख सुमिता श्रेष्ठ समेत कार्यक्रमको मध्यसम्ममा सहभागी भएकी थिइन् । साथै कार्यक्रममा यस क्षेत्रका गन्यमान्य राजनीतिज्ञ तथा समाजसेवीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष सीताराम दाहालले समेत बस्नेतको कार्यशैलीको खुलेरै प्रशंसा गरेका थिए । अदालतबाट लाइसेन्स लिएका लेखापढी व्यवसायीहरुको संख्या यहाँ उल्लेख्य रहे पनि हाल समितिमा नवीकरण गर्ने सदस्यहरुको संख्या १६६ जना रहेको छ । अधिवेशनका क्रममा एसोसिएसनका महासचिव कृष्णप्रसाद दाहाल ‘नवराज‘ ले पछिल्लो समय सरकारले मालपोत कार्यालहरुलाई सेवाग्राहीमैत्री बनाउने भन्दै चावहिल मालपोतको सेवा विस्तार साँखुमा सारेसँगै साँखुमा तदर्थ समिति स्थापना गरेको बताएका थिए । त्यतिबेला साँखु इकाइ तदर्थ समितिको संयोजक विदुरमल्ल ठकुरी रहेका थिए ।

विसं. २०७३ सालमा सम्पन्न पहिलो अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने एसोसिएसनको केन्द्रीय नेतृत्वको पहल विफल भएको थियो । यसपालि पनि सर्वसम्मत नेतृत्वको कुरा चले पनि अन्ततः निर्वाचन भएरै छोड्यो । नवनिर्वाचित अध्यक्ष बस्नेत भन्छन्, “हामीले लामो समयदेखि सर्वसम्मत नेतृत्व चयनकै लागि पहलकदमी लिएका थियौँ । तर साथीहरुले मतदानमै जाने कुरा गरेपछि हामी सोहीअनुसार अगाडि बढ्यौँ। सर्वसम्मत नेतृत्व चयनका विषयमा हामी आगामी दिनहरुमा थप गृहकार्य गर्नेछौँ” ।