GB Koirala Banner Ad New

देउवालाई दवाव दिन ४६ जिल्ला सभापतिको भेला हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन कहिले हुने भन्ने अन्यौल बढ्दै गइरहेको अबस्थामा सभापति शेर बहादुर देउवालाई दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारका नेता कृष्ण प्रसाद सिटौला पक्षधर ४६ जना जिल्ला सभापतिहरुको भेला यही साउन २५ गते काठमाडौंमा बस्ने भएको छ।

बैठकमा समयमा अधिवेशन सम्पन्न गर्नुपर्ने, क्रियाशील सदस्यतामा भएको अनियमिततालाई हटाएर विधानसम्मत ढंगले क्रियाशील सदस्यताको विषय टुंगाउनु पर्ने र सभापति देउवाको विपक्षमा पार्टीको १४ओैं अधिवेशनमा पौडेल पक्षबाट साझा उम्मेदवार बनाउन दबाब दिने विषयलाई मुख्य एजेन्डा बनाइने भएको छ।

समयमा महाधिवेशन सम्पन्न गर्न नसकेकाले वर्तमान पार्टी केन्द्रीय नेतृत्व प्रति देशभरका कांग्रेस कार्यकर्ताको विश्वास गुम्दै गएको अबस्थामा जिल्ला सभापतिहरूको भेलाले केन्द्रीय नेतृत्वलाई दबाब दिएर कांग्रेसको साख जोगाउन भुमिका खेल्ने बताइएको छ।

कांग्रेसको गत साउन १२ गते नै वडाअधिवेशन सम्पन्न गर्ने कार्यतालिका केन्द्रीय समितिले दिएको भएपनि आजसम्म क्रियाशील सदस्यताको विवाद नै टुंगोमा पुग्न सकेको छैन।

क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा नयाँ सदस्यता वितरण स्थगित गरिएको छ। महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ।