GB Koirala Banner Ad New

चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको सबै खोप मङ्गलवार आठ लाख डोज खोप आउने, २ लाख केही दिनभित्रै

काठमाडौं । नेपाललाई चीनले अनुदानमा दिने कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप मध्ये सबै खोप मङ्गलवार नआउने भएको छ । १० लाख डोज खोपमध्ये भोलि मङ्गलवार आठ लाख डोज खोप मात्रै नेपाल आइपुग्ने नेपाल एअरलाइन्सले जनाएको छ ।

खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । आज राति साढे ११ बजे बेइजिङका लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जुहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज बेइजिङ जाने बताउनुभयो ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने १० लाख डोज विभिन्न चरणमा आउने जानकारी पाएको र आठ लाख डोज भोलि नै आइपुग्नेबारे आफूलाई जानकारी नआएको बताउनुभयो ।

उहाँँले यसअघि तीनरतीन लाख डोजका दरले खोप ल्याउने छलफल भए पनि पछिल्लो अपडेट थाहा नभएको बताउनुभयो ।

चीनले दिने १० लाख डोज खोपमध्ये बाँकी दुई लाख हिमालय एअरलाइन्स मार्फत ल्याउने तयारी छ । तर हिमालय एअरलाइन्सले अहिलेसम्म उडानको मिति टुङ्गो नलागेको जानकारी दिएको छ ।

यस अघि सरकारले १० लाख डोज खोप एकै खेपमा ल्याउने जानकारी दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सीले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपका लागि पनि सहजीकरण गर्ने बताउनुभएको थियो ।

नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको आठ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदका लागि पनि कुटनीतिक पहल गरिरहेको छ ।