GB Koirala Banner Ad New

डिजिटल कारोबार उत्साहजनक : चैतमा मात्रै साढे ४८ अर्बको मोबाइल बैंकिङ कारोबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न भएको लकडाउन र निषेधाज्ञासँगै डिजिटल भुक्तानीमार्फत हुने कारोबार निकै बढेको छ । छिटो, सजिलो र सुरक्षित कारोबार हुने भएपछि डिजिटल माध्यमबाट हुने कारोबारमा धेरै वृद्धि भएको हो ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ । फागुन महिनामा कनेक्ट आईपीएस मार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो ।

गएको असार महिनामा यस्तो कारोबार जम्मा ५१ अर्ब रुपैयाँ मात्रै थियो । यस्तै, चैत महिनामा मोबाइल बैंकिङका एक करोड १० लाख वटा कारोबारमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ ।

यो अघिल्लो महिना भन्दा १० अर्ब रुपैयाँले धरै हो । चैत महिनामै इन्टरनेट बैंकिङमार्फत तीन लाख तीन हजार वटा कारोबार हुँदा १० अर्ब २ करोड रुपैयाँ कारोबार भएको छ, जबकी फागुन महिनामा आठ अर्ब ८८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।

यस्तै वालेट मार्फत हुने कारोबार पनि चैत महिनामा ११ अर्ब रुपैयाँ पुगेको छ । चैत महिनामा वालेट मार्फत एक करोड १४ लाख वटा कारोबार भएका छन् ।

यस्तै क्यूआर कोड मार्फत दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै ई–कमर्सबाट एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । चैत महिनामा एटीएम मेसिनबाट ७० अर्ब ६० करोड रुपैयाँ नगद झिकिएको राष्ट्र बैंकले जनाएको छ ।