काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५०% हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आज वैशाख २३ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले हकप्रद भर्ने म्याद गरी जेठ २ गतेसम्म पुर्याएको हो ।
हालको विषम परिस्थितिलाई मध्यनजर गरी हकप्रद भर्ने म्याद थप गरिएको कम्पनीले जनाएको छ । यसअघि हकप्रद भर्ने म्याद वैशाख २६ गतेसम्म तोकिएको थियो ।
अरुण भ्यालीले वैशाख ६ गतेबाट १ः०.५ अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हकप्रद सेयर बिक्री गर्न चैत ९ गते बुक क्लोज गरेको थियो ।
तसर्थ, चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सकिनेछ ।
यस्तै, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । हाल अरुण भ्यालीको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ ।
कम्पनीले यही पुँजीबाट ५०५ हकप्रद सेयर निष्कासन खुला गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।




























