काठमाडौं । ऋणपत्र बिक्री नभएपछि ग्लोबल आइएमई बैंकले आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर चैत १६ गतेसम्म पुर्याइएको हो ।
यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।बैंकले चैत १ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ ।
बैंकले ३० लाख युनिट (इकाई ) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसबाट सामूहिक लगानी कोषलाई ५५ अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले १० वर्ष अवधिको ‘८।५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/०८७’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गरेको छ ।
यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।
यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।





























