GB Koirala Banner Ad New

जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशी विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै जोशीका विषयमा कतिपय सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले निधन भएको भनी गलत र भ्रमपूर्ण समाचार सामग्री सम्प्रेषण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार तथा सञ्चार माध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी हल्ला र अनुमानका भरमा तथ्यहिन/पुष्टि नभएका सामग्री सम्प्रेषण भएको देखिएकाले त्यस्ता सञ्चार माध्यमलाई कारबाही प्रकृया अगाडि बढाउनुका साथै सामाजिक सञ्जालबाट पोष्ट गर्ने पत्रकारलाई सचेत गराएको उल्लेख छ ।

को पहिला हुने भन्ने होडबाजीमा पुष्टि बेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना खल्बलिने र प्रभावितलाई थप पीडा पुग्ने गरी सामग्री सम्प्रेषण नगर्न र पत्रकार आचारसंहिता पूर्ण पालनामा प्रतिबद्ध रहन काउन्सिलले ध्यानाकर्षण गराएको छ ।

गत फागुन १४ गतेदेखि मतिष्कघात भई उपचाररत रहनु भएका पूर्वमन्त्री जोशीको अवस्था बिग्रिएर भेन्टिलेटरमा राखेर उपचार गराइरहेको विषयमा नर्भिक इन्टरनेशनल अस्पतालले आज बिहान ७ बजे एक विज्ञप्ति मार्फत जानकारी गराएको थियो । कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालमा गएरातीदेखि नै जोशीको निधनका समाचार आएका थिए ।