GB Koirala Banner Ad New

आज  ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज  फागुन २६ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइ सक्नु पर्नेछ । यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिजो मंगलबार साँझ ४ः४७ बजेसम्ममा १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५।६३ गुणा बढी आवेदन हो ।

ज्योति लाइफ इन्स्योरेन्सकोआइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।