GB Koirala Banner Ad New

युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाटै बाहिरियो

एजेन्सी । इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । दोस्रो लेगमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

मंगलबार भएको खेलमा युभेन्टसले पोर्टोलाई ३–२ ले पराजित गरेको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २–१ ले जितेको थियो ‌। समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो ।

खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। खेलको ४९ औँ मिनेटमा फेडेरिको किएजाले गोल गर्दै खेल बराबरीमा ल्याए ‌। उनले रोनाल्डोको पासमा गोल गरेका थिए ।

६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । उनले जुआन क्वाडराडोको पासमा गोल गरे । निर्धारित ९०औं मिनेटमा गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

अतिरिक्त समयमको १ सय १५ औं मिनेटमा सर्जियो अलिभिएराले दोस्रो गोल गरे । त्यसको २ मिनेटपछि नै युभेन्टसले गोल फर्कायो । बर्नार्डेस्कीको क्रसमा एड्रिएन राबिअटले हेडरमा गोल फर्काए । त्यसपछि युभेले गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरियो ।