GB Koirala Banner Ad New

राष्ट्रसेवक वस्तीको पुस्तकमा गोरखा भूकम्प र पुनर्निर्माणको नालीबेली

बहत्तर सालमा गएको महाविनासकारी भूकम्पको चर्चा अहिले पनि बेलाबेला उत्तिकै चल्ने गर्छ । भुक्तभोगी पीडितहरूको आफ्नै ब्यथा छ, प्रत्यक्ष प्रभावित नहुनेहरूले पनि उक्त भूकम्प बिर्सन सकेका छैनन् । भूकम्पले गर्ने प्रभावको विभिन्न पाटा छन् । तिनैमध्ये एक पाटोको चिरफारसहित छर्लङ्ग पार्ने प्रयत्न एक राष्ट्रसेवकले आफ्नो पुस्तकमार्फत गरेका छन् । भूकम्पपछिको पुनर्निर्माण कार्यमा सरकारी निकायको प्रतिनिधित्व गरी अनेक अनुभव सँगालेका उनी हुन् ई. गणेशराज वस्ती ।
उनै इञ्जिनियर गणेशराज वस्तीको नयाँ कृति ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ प्रकाशनमा आएको छ । ‘गोरखा भूकम्प’ भनेर समेत चिनिने वि.सं. २०७२ वैशाख १२ मा गएको मध्यनेपालको विनासकारी भूकम्प जाँदादेखि पुनर्निर्माणसम्मका सम्पूर्ण दृश्यलाई सारमा खिच्ने हुटहुटीबाट अभिप्रेरित भइ लेखकले यो पुस्तक लेखेका हुन; दुई सय पचास पृष्ठको पुस्तक ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ अध्ययन गरिसक्दा सारमा यस्तै लाग्छ ।
प्राविधिक (इन्जिनियरिङ) सिप लगाएर भौतिक संरचनाको निर्माणमा विषयविज्ञता हासिल गरेका र पेशागत रूपले नेपाल सरकारको ‘प्रदेश सचिव’ (उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश) ओहदामा पसिना बगाइरहेका ई. गणेशराज वस्ती साहित्य सर्जकको रूपमा पनि उत्तिकै परिचित व्यक्तित्व हुन् । खासगरी कविता, गीत र यात्रा–साहित्यमा उनको लगाव देखिन्छ, तथापि साहित्येतर कृति पनि ई. वस्तीका बग्रेल्ती नै प्रकाशित छन् । पछिल्लो चरणमा गीतकारको रूपमा समेत सशक्त ढङ्गले उदाएका उनका फुटकर साहित्य–रचनाहरू विभिन्न पत्रपत्रिकामा सयौँको सङ्ख्यामा प्रकाशित भएका छन् भने हालसम्म प्रकाशित एक दर्जन पुस्तक–कृतिमध्ये ई. वस्तीको यो बाह्रौँ कृति हो, जसमा पुस्तकको नामलाई सार्थक तुल्याउँदै बहत्तर सालको विनाशकारी भूकम्पको परिवेशका चित्रहरू शब्दमा उतारिएको छ । ‘कम्प, भूकम्प र पराकम्प’बाट शुरु भइ ‘अगाडिका दिन’ सम्मका एकतिस वटा अलग–अलग उपशीर्षकमा समेटिएका गोरखा भूकम्पसम्बन्धित विषय–बस्तुको चित्रणका आधारमा भन्नुपर्दा पक्कै पनि यस पुस्तकका पाठकहरूमा इमानदार भएर देश निर्माणमा आतुरता देखाउने, त्यस्ता काममा प्रेरित हुने, जोशजाँगर निकाल्ने ओजगुण जाग्ने विश्वास गर्न सकिन्छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सम्वद्ध विभिन्न निकायमा रही पुनर्निर्माण कार्यमा सरिक रहने अवसर पाएका ई. वस्तीले प्राविधिक विषयबस्तुलाई पनि अत्यन्त सरल–साहित्यको रङ्ग दिएर रसिलो ढङ्गमा भूकम्प र त्यसपछिका यावत परिवेशलाई पस्किदिएका छन् । एक कर्तव्यनिष्ठ सरकारी कर्मचारीको रूपमा विभिन्न कालखण्ड या सन्दर्भविशेषमा स्वयम्ले भोगेका, देखे–बुझेका र अनुभूत गरेका घटना–सन्दर्भहरूलाई पनि साहित्यको लेप लगाएर लेखकले प्रस्तुत गरिदिएका छन् । लेखककै शब्दमा भन्नुपर्दा, लेख्दा न कुस्ती खेल्न खोजिएको छ न त स्तुति गान नै ! सिधा हेर्दा जे देखिएको छ त्यही लेखिएको छ । यथार्थपरक भएर विसङ्गति र बेथितिलाई चिन्ने, टिप्ने र चिरफार गर्ने जमर्को गरिएको छ । सुनौलो भविष्यको पदमार्ग कोर्न लालायित मनोभावको प्रकटीकरण गर्ने प्रयास पनि यस पुस्तकभित्र देख्न सकिन्छ ।
गोरखा भूकम्पबाट भएको विनास र तत्पश्चात् सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका उद्धार तथा राहत र पुनः निर्माणका प्रयासहरूलाई समेट्दै केही पुस्तकहरू प्रकाशन नभएका होइनन् । तर, गणेशराज वस्तीको यो पुस्तक अलग उचाइ र महत्वको छ । यस पुस्तकले भावी पुस्तालाई बहत्तर सालको विनासकारी भूकम्प र त्यसपछिको पुनर्निर्माणका गतिविधि र उपलब्धि आदिका बारेमा निकै हदसम्म सत्यतथ्य जानकारी त गराउने नै छ, साथसाथै विद्यालय÷विश्वविद्यालयका विद्यार्थी, शिक्षार्थी, शोधार्थी र अन्य सरोकारवाला सबैका लागि समेत आ–आफ्ना अध्ययन, अनुसन्धान, अन्वेषण आदिका क्रममा पुस्तकले महत्वपूर्ण सहयोगीको भूमिका निर्वाह गर्नेमा शङ्का गरिरहनै पर्दैन ।
सरल र सादगी स्वभावका ई. गणेशराज वस्ती आफूले पाएका अनेक अवसरहरूलाई तिलाञ्जली दिँदै स्वदेशकै लागि केही गरौँ भनी मरिमेट्ने देशप्रेमी राष्ट्रसेवक पनि हुन् भनी पाठक वर्गलाई जानकारी गराउनु यहाँनेर सान्दर्भिक नै हुनेछ । पेशागत कर्मका साथै वैयक्तिक विभिन्न अवसरको सदुपयोग गर्दै मुलुकका सतहत्तर वटै जिल्ला र अमेरिका, जापान, बेलायत, चीन, फ्रान्सलगायत दर्जन सङ्ख्यामा विदेशको समेत भ्रमण गरेर विभिन्न अनुभव, अनुभूति र ज्ञान बटुलेका लेखक÷साहित्यकर्मी गणेशराज वस्ती एक अब्बल प्राज्ञिक व्यक्तित्व पनि हुन् । एक विज्ञ प्राविधिक भएर पनि संवेदनशील साहित्य–स्रष्टाको पहिचान स्थापित गरेका ई. वस्तीबाट भविष्यमा अझै महत्वपूर्ण र थप गहकिला कृति सिर्जित हुँदै जाने अपेक्षा र विश्वास गर्न सकिन्छ ।