GB Koirala Banner Ad New

होटल एशोसिएसन अफ (हान) ले वृहत् पर्यटन पुनरुत्थान योजना ल्याउन माग

काठमाडौँ । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन अफ (हान) ले कोभिड–१९ महामारीले नराम्रोसँग थला परेको पर्यटन क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग गरेको छ ।

कोभिड महामारीको पहिलो लहरबाट थलिएको होटल उद्योग पुनःसञ्चालन हुन नपाउँदै नयाँ कोरोनाको भेरियन्टको कारण सबैभन्दा बढी प्रभावित उद्योगको पुनरुत्थानका लागि बजेट तथा नीति तथा कार्यक्रममा सम्बोधन गर्न हानले विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।

कोभिडका कारण पूर्णरूपमा बन्द रहेको व्यवसाय लामो समयदेखिको ऋणात्मक भएको कारण नियमति दायित्व बहन गर्न असम्भव भएकोले राज्यको तर्फबाट चालु आबको बजेटमा उपलब्ध गराइएका सुविधा दोब्बर गर्दै बजेट, नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन हानले आग्रह गरेको छ ।

होटल उद्योगको भूमिकालाई केन्द्रमा राखी सबैभन्दा बढी लगानीसहित राष्ट्रिय समृद्धिमा उल्लेखनीय योगदान दिई अन्तरराष्ट्रिय गरिमा अभिवृद्धि गर्ने होटल तथा पर्यटन उद्योगलाई आब २०७८/०७९ को बजेटमार्फत हानले माग गरे अनुसारका कार्यायोजनाका लागि कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहित आर्थिक योजना लागू गर्न हानले माग गरेको छ ।

कोभिड महामारी समाप्त हुने वित्तिकै तुरुन्त होटल तथा पर्यटन पूर्ववत अवस्थामा फर्कने अवस्था नहुने हुँदा बजेटको पहिलो प्राथमिकता प्रभावित उद्योगको रूपमा यसको संरक्षण र सम्बद्र्धनमा केन्द्रित हुन आग्रह गरिएको छ ।

विशेष सहुलियत सहित कर, छुट र मिनाहासम्बन्धी व्यवस्था, बैंकिङ सहुलियत, विद्युत् महसुल तथा शुल्क, आर्थिक दायित्व स्थगन, कर्मचारी तथा श्रमिक कल्याण योजना, आन्तरिक पर्यटन प्रवद्र्धनलगायत कार्यक्रम ल्याउन हानले विज्ञप्तिमा अनुरोध गरिएको छ ।