काठमाडौं – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो ।
नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । स्पिनर रोहन मुस्तफाको बलमा उनी एलबीडब्लू आउट हुन पुगे तर पछि नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे । चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए ।
नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।































