GB Koirala Banner Ad New

स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जिते

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।

उसका लागि एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । भालाडोलिडले १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि त्यसलाई उल्ट्याउँदै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि जित्न सफल भयो ।

गएराति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २–१ गोलले हराएको थियो । यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १–० गोलले हराएको छ ।

ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्क सहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्क सहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।