GB Koirala Banner Ad New

सुपर लिगमा पहिलो क्वालिफायर खेल भोलि हुँदै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको पहिलो क्वालिफायर खेल भोलि हुँदैछ । सात टिम सहभागी प्रतियोगिताको लिग चरणको शीर्ष दुईमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसीबीच पहिलो क्वालिफायर प्रतिस्पर्धा हुन लागेको हो ।

लिग चरणको खेलमा धनगढीले काठमाडौंमाथि ३–० को स्पष्ट जित हासिल गरेको थियो । यो खेल जित्ने टिम फाइनलमा पुग्नेछ ।

हार्ने टिमले फेरि फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । इलिमिनेटर खेलमा लिगमा तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र चौथो स्थानमा रहेको बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

हार्ने टिम बाहिरिने छ भने जित्ने टिमले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नेछ ।

प्लेअफअघिको पत्रकार सम्मेलनमा आज चारै वटा टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नकै लागि अबका खेल खेल्ने बताएका छन् ।

पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र चितवन भने बाहिरिएका छन् । विजेताले ३५ लाख रुपैयाँ जित्ने प्रतियोगिताको फाइनल खेल जेठ १ गते शनिबार हुनेछ ।