काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलो पटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट शुरू हुँदै छ ।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलो पटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।
यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लि ले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका वीच उक्त कुरा सार्वजनिक गरिएको थियो । आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमका वीच सो सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सो सम्झौतपत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै गेम अन प्रा.लि का प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनु परेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्दै टीमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइ नसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्तहोस् भन्ने आफ्नो इच्छा रहेको बताउनुभयो । विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रवन्ध निर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताउनुभयो ।
मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के.सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तीन दशक भन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।


























