काठमाडौं : काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि ४ वटा अस्पतालको फोहर संकलन नगर्ने भएको छ । महानगरले कलंकी क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले राससलाई जानकारी दिए ।
कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै मा रोक लगाएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर संकलनमा रोक लगाएको थियो ।
फोहर संकलनमा रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहर निःसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
“ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका निम्ति हानीकारक फोहर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौं । अनुगमनका क्रममा फोहर व्यवस्थापन अभ्यास हेर्दा फरक अवस्था देखिएको छ,” श्रेष्ठले भने, “संक्रमित फोहरको व्यवस्थापन उत्पादक आफैंको हुन्छ ।
अस्पतालहरुको अवस्था हेर्दा सबैको एकै किसिमको गल्ती छैन, कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहरको सम्बन्धमा निर्णय गरिनेछ ।’
स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड गर्ने अधिकार पनि स्थानीय सरकारलाई दिएको छ ।































