GB Koirala Banner Ad New

‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारत जाने

इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् । नयाँ दिल्लीमा यही असोज ९ र १० गते १३औं ‘इन्डो–प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्स (आइपिएसिसी)’ हुँदैछ ।

आइपिएसिसीसँगै ‘इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरम’ पनि हुँदैछ । यी कार्यक्रममा पनि प्रधानसेनापति शर्मा सहभागी हुनेछन् ।

प्रधानसेनापति शर्मा आइपिएसिसी सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली जान लागेको कुरा नेपाली सेनाको जंगी अड्डाले पुष्टि गरेको छ । ‘प्रधानसेनापति असोज ७ गते यहाँबाट प्रस्थान गर्नुहुन्छ । सम्मेलनमा भाग लिएर सम्भवतः ११ गते फर्किनुहुन्छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने । उनले भने, ‘विगतका सम्मेलनमा पनि सहभागी हुँदै आएको हो । यो निरन्तर प्रक्रिया हो ।’

सम्मेलनमा ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धि  प्रवर्द्धन, सुरक्षा सहयोग र सामूहिक रणनीति, परस्पर क्षेत्रीय हित र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकालगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । सन् १९९९ देखि हरेक दुई वर्षमा आइपिएसिसी हुँदै आएको छ । यसको १२औं सम्मेलन सन् २०२१ मा हवाईको फोर्ट साप्टरमा भएको थियो ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत देशका सेना प्रमुख सहभागी हुने जनाइएको छ ।

सम्मेलनको आयोजना भारतीय र अमेरिकी सेनाले संयुक्त रूपमा गर्दैछन् ।