काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका छन् ।
शनिवार एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संसद् विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरीत भएको दाबी गरेका हुन् ।
उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रूपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन भनेको स्मरणीय छ ।’
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद् विघटन गरिएको समेत उनले बताएका छन् ।
सभामुख सापकोटाले भने, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिँदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’
































