काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन अध्यक्ष सहित शनिबार बसेको बैठकले कोभिड–१९ महामारीका कारण २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा गर्न लागिएको पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको केन्द्रीय सचिवालयका सचिव भास्कर भद्राले जानकारी दिनुभयो ।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्दै ५ दिन भित्र पार्टीको निर्देशन समिति गठन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।
यस्तै, बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
संक्रमित बिरामीका लागि अस्पतालहरूमा शय्याको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेकोले निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन राप्रपाले माग गरेको छ ।
राप्रपाले नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न माग गर्दै कोभिडसँग जुधिरहेका जनताको सेवामा सुरक्षित रहि परिचालिन हुन पार्टीको नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।































